सरकारी गाडीमा एमालेको झन्डा प्रयोग भएपछि स्थानीयद्धारा नियन्त्रणमा

काठमाडौं । कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ।

उहाँको सवारीमा दलको झन्डा प्रयोग गरेको भन्दै गएराति धनगढी उपमहानगरपालिका–१९ का स्थानीयले सो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

निर्वाचनको आचारसंहिताविपरीत सरकारी गाडीमा एमालेको झन्डा गाडेको भन्दै धनगढी–१९ मा कांग्रेसका युवाहरूले गाडी नियन्त्रणमा लिएका हुन्।

प्रदेशसभा सदस्य चौधरीले प्रयोग गर्ने से १ झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका–१९ बाट गएराति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका हुन्।

उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो। उहाँका अनुसार त्यस विषयमा थप अनुसन्धान भइरहेको छ।

तर, एमालले भने घरमा रोकेर राखेको गाडीलाई धकेलेर सडकमा लगी विपक्षीले सरकारी गाडीमा दलको झन्डा गाडेको आरोप लगाएको छ।

धनगढी उपमहानगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिनुभएका एमाले नेता रणबहादुर चन्दले एमालेलाई बदनाम गराउने उद्देश्यले घरमा रोकेर राखेको गाडीलाई धकेलेर बाहिर लगी झन्डा प्रयोग भएको बताउनुभयो।

‘यो एमालेलाई बदनाम गराउने उद्देश्यले बुनेको योजना हो’, उहाँले भन्नुभयो, ‘यसको छानबिन हुनुपर्दछ।’

उहाँले निर्वाचन आचारसंहिताको पालना गर्न एमालेका सबै उम्मेदवार र कार्यकर्ता कटिबद्ध रहेको पनि बताउनुभयो।

Back to top button