आज दाङमा गठबन्धनको चुनावी सभा हुँदै, देउवा, प्रचण्डलगायत शीर्ष नेताहरू आउँने

दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभा गर्ने भएको छ। तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागिएको छ।

तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल लगायतका शीर्ष नेताहरू दाङ आउन लाग्नुभएको हो ।

तुलसीपुरको अरनिको मैदानमा दिउँसो करिब १२ः३० देखि सुरु हुने आयोजक नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले बताउनुभयो। तुलसीपुरको कार्यक्रम पछि नेताहरू घोराहीको सभालाई सम्बोधन गर्नुहुनेछ ।

गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयर पदमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर राना हुनुहुन्छ ।

त्यस्तै, घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) मेयर पदमा र उपमेयरमा नेपाली कांग्रेसका नेता भूप बहादुर डाँगी हुनुहुन्छ ।

Back to top button