वैशाख ३० गते देशभर कोरोनाविरुद्धको खोप अभियान स्थगित हुने

काठमाडौं । वैशाख ३० गते देशभर कोरोनाविरुद्धको खोप अभियान स्थगित हुने भएको छ।

३० गते स्थानीय तह निर्वाचन हुने हुँदा सबै स्वास्थ्यकर्मी समेत मतदान गर्न जानुपर्ने र केही स्वास्थ्यकर्मी निर्वाचनमा परिचालन हुने हुँदा उक्त दिन खोप अभियान सञ्चालन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ‚‘निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मी समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ। निर्वाचन अघि र पछिका दिनमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्ध खोप लगाई आफू र आफन्तलाई सुरक्षित राख्नुहुन अनुरोध छ।’

यस्तै मन्त्रालयले मतदान गर्न जाँदा जनस्वास्थ्यका मापदण्ड समेत पालना गर्न आग्रह समेत गरेको छ।

Back to top button