पोखराका कांग्रेसलाई दम्भ नदेखाउन नेपालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैलाई दम्भ नदेखाउने आग्रह गर्नुभएको छ । पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दम्भले सखापको बाटोमा लगेको बताउँदै कम्युनिष्ट र कांग्रेसका नेताहरूले पनि दम्भ नदेखाउने आग्रह गरेका हुन्।

अध्यक्ष नेपालले भन्नुभयो, ‘कम्युनिष्ट र कांग्रेस सुरुदेखि नै जनताको माझमा आफ्नो विचार लिएर अफ्ठ्यारो बीचमा मिलेरै गएका छौँ आज मात्रै होइन। यसभन्दा अघि पनि कांग्रेस र कम्युनिष्ट मिलेर सरकार बनाइरहेका छौँ। सबैलाई हेक्का रहोस् कहिलेकाहीँ कम्युनिष्ट र कांग्रेस दुवैलाई दम्भ हुन्छ। हामी बलियो छौँ भन्ने दम्भ राख्नुहुँदैन। दम्भ राख्यो भने सबैको विनाश हुनसक्छ। दम्भले केपी शर्मा ओलीलाई सखापको बनायो।’

अहिले देशमा दुई गठबन्धनबीचको प्रतिस्पर्धा रहेको बताउनुभयो। पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनमा संविधान, लोकतन्त्र र संघीयता रक्षाको लागि बनेको बताउनुभयो । ‘अर्कोतर्फ दक्षिणपन्थी र प्रतिगामी, गणतन्त्र र संविधान र संघीयताविरोधी गठबन्धन छ। ओलीले संविधानले दिँदै नदिएको अधिकार प्रधानमन्त्री पदको दुरुपयोग गरेर प्रतिनिधि सभाको विघटन गरेका थिए। अदालतले पुनःस्थापना गर्दा पनि चेतेनन्। ओलीले प्रतिनिधिसभाको हत्या गर्ने प्रयास गरेको थिए’ उहाँको भनाइ छ।

नेकपा एमाले बनाउने आफ्नो भुमिका भएको ओलीमा कम्युनिष्ट निष्ठा र आदर्श नभएको बताउनुभयो। ओलीले आफूबाहेक अरुलाई कहिल्यै नदेख्ने समेत बताउनुभयो।

‘ओली कुसंस्कार बोकेर हिँडेका छन्। ओलीको नेतृत्व गरेको पार्टी र गठबन्धन गतिलो हुँदैन। पाँच दलीय गठबन्धन गरेर देश र संविधान जोगाएर समाजवादको लक्ष्यमा जाने बाटो बनाइरहेको छौँ’ उहाँले भन्नुभयो। उहाँले कसैले दम्भ नराखी पोखरा गठबन्धनको उम्मेदवारलाई जिताउन लाग्न आग्रह गर्नुभयो ।

Back to top button