गठबन्धन राष्ट्रियको आवश्यकता होः देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रियको आवश्यकता भएको बताउनुभएको छ ।

आज पाँच दलीय गठबन्धनद्वारा पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने बताउनुभयो।

गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उहाँले भन्नुभयो, ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो? आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी मिलाएर बसेको छ।’

गठबन्धनमा शंका, उपशंका गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेका छन्।’

उहाँले गठनबन्धनले ६ महानगरमध्ये ३ वटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताउनुभयो।

महानगर मात्र नभइ हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो। गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दलले भन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

Back to top button