एमाले र माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि हातपात, कारवाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएको हमलाको निन्दा गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि भएको आक्रमणमा दोषीलाई कारवाहीको माग गर्नुभएको हो ।

धनुषाको सबेला नगरपालिका–४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेले साङ्घातिक हमला गरेको राप्रपाको आरोप छ।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्षका उम्मेदवार लिलिबर बिसीलाई चुनावी प्रचारका क्रममा बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उम्मेदवारलाई लछार पछार गरिएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

राप्रपाले दुवै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको छ। भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ।

Back to top button