कटहरीका उम्मेदवार भन्छन्, ‘चुनावमा प्रतिष्पर्धा, त्यसपछि एकता’

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउँपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताउनुभएको छ ।

संवाद समूह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा, सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताउनुभएको हो ।

निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रुपमा नल्याई नागरिकको जीवनसँग जोडेर जाने उम्मेदवारहरुको भनाई छ । नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार सुवास सरदारले निर्वाचित भएपछि कटहरीको पहिचान दिलाउने बताउनुभयो ।

कृषि क्षेत्रको प्रवर्धन गर्नको लागि अहिलेसम्म काम नभएकोले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । ‘हरेक क्षेत्रमा विचौलियाका कारण कटहरी गाउँपालिकामा समस्या देखिएको छ, उहाँले भन्नुभयो, विचौलियाको अन्त्य गरी नागरिकको लागि सहज सेवाप्रवाह गर्ने मेरो पहिलो दायित्व हुनेछ ।’

आफू दलित भएको सुनाउँदै उहाँले अहिलेसम्मका जनप्रतिनिधिले गरिब र दलितको क्षेत्रमा कामै नगरेकोले आफ्नो प्राथमिकता गरिब र दलित समस्या समाधानमा केन्द्रित हुने उहाँले बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेकोले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउने योजना रहेको उल्लेख गर्नुभयो । उद्योगी र ब्यवसायीसँग समन्वय गरेर बेरोजगार युवाको लागि रोजगारीको अवसर सिर्जनागर्ने उहाँको प्रतिबद्धता छ ।

Back to top button