मोरङमा भोलि रातिबाट मदिरा निषेध

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीय तहको निर्वाचनका लागि भोलि रातिबाट मादक पदार्थ ओसारपोसार तथा सेवन निषेध गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले वैशाख २७ गते राति १२ बजेबाट जिल्लाभर मादक पदार्थ सेवन, ओसारपोसार, बिक्री वितरण गर्न रोक लगाइएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष, मर्यादित बनाउनका लागि २७ गते रातिबाट निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नहुञ्जेलसम्म मदिरा प्रयोगमा रोक लगाइएको जानकारी दिनुभयो। प्रशासनको निर्णय अवज्ञा भए कानुन बमोजिम कारबाही हुने प्रजिअ दाहालले बताउनुभयो।

प्रशासन कार्यालयले निर्वाचनका समयमा मदिरा पसल खोल्नमा समेत रोक लगाएको जनाएको छ।

त्यसैगरि मतदानको दिन महानगर, उपमहानगरका प्रमुख–उप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले एक थान सवारी प्रयोग गर्न पाउने जनाएको छ।

महानगर वा उपमहानगरका वडाध्यक्ष तथा सदस्यको हकमा वडाभित्र परिचालन हुनका लागि एक थान मोटरसाइकल, सिटी सफारी वा चार पांग्रे सवारी चलाउन पाउने छन्। गाउँपालिका वडाध्यक्ष तथा सदस्यले वडाभित्र प्रयोगका लागि एउटा दुई पांग्रे सवारी साधन प्रयोग गर्न पाउने कार्यालयले जनाएको छ।

 

Back to top button