कांग्रेसका नेताले सिद्धान्त छाडे : एमाले अध्यक्ष ओली

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरुले सिद्धान्त छोडेको टीप्पणी गर्नुभएको छ । आज यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसका नेताहरुले सिद्धान्त र विचार छोडेको टिप्पणी गर्नुभएको हो ।

‘कांग्रेसका नेताहरुले सिद्धान्त छोड्नुभयो । विचार छोड्नु भयो । कृष्णप्रसाद भट्टराईले जीवनको उत्तरार्धमा कांग्रेस छोड्नुभयो । गणेशमान सिंहले छोड्नु भयो’ ओलीले भन्नुभयो,‘बीपी कोइराला हुनुहुन्थ्यो भने अहिलेको कांग्रेस काम छैन भनेर छोडेर हिँड्नुहुन्थ्यो ।’

उहाँले अब देश बनाउने जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभयो । भन्नुभयो,‘अब देश बनाउने जिम्मेवारी एमालेको काँधमा छ । भिजन भएको पार्टी, योजना भएको पार्टी, देश बनाउने संकल्प भएको पार्टी, विकासको अभियानलाई तीब्र बनाउने पार्टी एमाले नै हो ।’

उहाँले एमालेका उम्मेदवारलाई जिताउन अपिल समेत गनुभयो । उहाँले एमालेलाई सिद्ध्याउने अनेकौं प्रयास भइरहेको भन्दै यस्ता तत्वहरुबाट सजग हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिको जवाफ दिँदै को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने बताउनुभएको छ ।

‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधानमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ । कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे’ उहाँले भन्नुभयो, ‘वैशाख ३० गतेको परिणामपछि थाहा हुन्छ, को सकिएछ, को खत्तम भएछ । जनताले बताउँछन ।’

Back to top button