खोटाङमा स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा

खोटाङ । खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । १० वटा पालिका रहेको जिल्लामा १ हजार ३० निजामती कर्मचारी र ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै १ हजार नेपाली सेना, ३ सय सशस्त्र प्रहरी र ७ सय जनपथ प्रहरी तथा १ हजार ८७ म्यादी प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ सय ३६ मतदानस्थल र १ सय ९४ वटा मतदान केन्द्र निर्धारण गरिएकामा ३५ वटा अतिसंवेदनशील, ५८ संवेदनशील र ४३ वटा मतदान केन्द्र सामान्यमा राखिएको छ ।

सुरक्षा संयन्त्रको पहुँच, विगतमा भएका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरी शान्ति–सुरक्षाको व्यवस्था मिलाइएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आसन्न स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जल्लास्थित सबै राजनीतिक दलले प्रतिबद्धतासमेत जनाएका छन् ।

मतदानस्थल तथा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धि तालिम दिएर कर्मचारीसहित आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका कार्यालय प्रमुख राजेश गौतमले जानकारी दिनुभयो ।

निर्वाचन सफल पार्न जिल्लास्थित क्रियाशील राजनीतिक दललाई अमर्यादित गतिविधि नगर्न अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मात्रिकाप्रसाद आचार्यले बताउनुभयो ।

२ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच चुनावी तालमेल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालबीच छ वटा स्थानीय तहमा पूर्ण र चार वटामा आंशिक तालमेल भएको छ ।

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका १० स्थानीय तहमा १ लाख ४३ हजार ७ सय ५२ जनाले मतदान गर्न पाउने भएका छन् ।

महिला ६८ हजार ७ सय ४६ र पुरुष ७५ हजार ६ सय जना मतदाताले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

Back to top button