श्रीलंकामा हिंसात्मक प्रदर्शन : ३ जनाको मृत्यु, सयौं घाइते

श्रीलंकामा केही महिनादेखि जारी आर्थिक संकटका बीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनयता ठूला प्रदर्शनसँगै हिंसात्मक गतिविधि बढेका छन् ।

सोमबार बिहानैदेखि भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा ३ जना मारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस क्रममा एक सांसद र एक प्रहरी अधिकृत पनि मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीले केही मन्त्री र सांसदहरूको निवासमा पुगेर आगजनी समेत गरेका छन् । झडपको क्रममा २ सय जना घाइते भएको र कोलम्बो नेशनल हस्पिटलमा उपचार भइरहेको छ । सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । तैपनि हिंसा रोकिएको छैन ।

अहिले कोलम्बोसहितका सहरमा राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । महिन्दा राजापाक्षे समर्थकहरूको प्रदर्शनले पछिल्लो समय उग्ररुप लिँदै गएको स्थानीय मिडियाले जनाएका छन् ।

हाल मन्त्री तथा उच्च अधिकारीहरू नै प्रदर्शनकारीको निशाना बनेका छन् । उनीहरूले नेताहरूका घर जलाउनुका साथै प्रहरीका गाडीसमेत तोडफोड गरेका छन् ।

केही भारतीय मिडियाका अनुसार प्रदर्शनकारीले महिन्दा राजापाक्षेको हन्बनटोटामा रहेको पुरानो घर समेत जलाइदिएका छन् । सरकारले कर्फ्यू जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

केही महिनादेखि नै आर्थिक संकट झेल्दै आएको श्रीलंकामा पछिल्ला घटनाले गृहयुद्धको सम्भावना बढेको टिप्पणी हुन थालेको छ । हिंसात्मक प्रदर्शन अनियन्त्रित बन्दै गएपछि श्रीलंकामा गृहयुद्ध निम्तिनसक्ने आँकलन गरिएको छ ।

Back to top button