म महानगरबासीको साझा उम्मेदवार हुँ : सागर थापा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदको उमेदवार सागर थापा हुनुहुन्छ । अनेरास्ववियुबाट राजनीति सुरु गर्नु भएका थापा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको दुईपटक स्ववियू सभापतिमा निर्वाचित हुनुभएको थियो । विराटनगर महानगरभित्र सर्वसाधारणका बीचमा सुपरिचित थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै आउनुभएको छ । नेकपा एमालेको दुईकार्यकाल जिल्ला कमिटी सदस्य र विगत एकदशकदेखि महानगर कमिटीको नेतृत्वमा रहनुभएका थापा अहिले पनि महानगर कमिटीको अध्यक्ष हुनुहुन्छ । स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आइपुग्दा मेयर पदका उम्मेदवार थापासँग गरिएको संक्षिप्त कुराकानी

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ? तयारी कस्तो रह्यो ?

असाध्यै राम्रो छ । हामीले निर्वाचन आयोगले तोकेको समय सीमाभित्र रहेर जनताका घर–घरमा पुग्यौं । टोलटोलमा भेला, कोणसभा गर्‍यौं। जनताका बिचार सुनेका छौं । तमाम महानगरबासीबाट सुझावसहित शुभाशिष, शुभेच्छा र उत्साह पाएको छु । तयारी भनेकै महानगरबासीका सुझाव सुन्ने र उहाँहरुसँग मत माग्ने विषय नै यतिबेलाको महत्वपूर्ण हो जुन हामीले गरेका छौं ।

के– कस्ता सुझाव आए त महानगरवासीबाट ?

महानगरवासीले दिएको महत्वपूर्ण सुझाव भनेको व्यवहार र कार्यशैलीमा परिवर्तन नआओस्, अहिले जस्तै हरेक महानगरबासीको सहज पहुँच पुगोस् भन्ने छ । जुन मैले प्रण गरेको छु । यस्तै महानगरवासीमा कुनै स्वार्थ छैन । उहाँहरुले साझा र सामान्य विषयमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ । त्यो हामी निर्वाचित भएपछि गर्ने नै छौं ।

तपाईंको विराटनगरमा जित्ने आधार के के हुन् ?

सर्वप्रथम त नेकपा एमालेबाट उम्मेदवार बनेपनि महानगरबासीको म साझा उम्मेदवार हुँ । सबैसँग मेरो अत्यन्त सौहार्द्र सम्बन्ध छ । म महानगरका टोल–टोल पुगेको मात्रै छैन, यहाँका हरेक बाटा र गल्लिलाई समेत मैले राम्ररी बुझेको छु । म जनताका हरेक दुःखसुखमा सहयात्री बन्दै आइरहेकै छु । यहाँका हरेक राजनीतिक दलका साथीहरुसँग पनि मेरो उत्तिकै राम्रो सम्बन्ध छ । साँच्चै भन्ने हो सबैको लागि सहज उम्मेदवारको रुपमा मैले महशुष गरेको छु । मलाई पूर्ण विश्वास छ, यो स्थानीय तहको चुनाव हो, यहाँ पार्टीका साथीहरुले मात्र नभई अन्य राजनीतिक दलका साथीहरुले समेत मलाई मतदान गर्नुहुनेछ । चाहे नेपाली कांग्रेस या माओवादी केन्द्र । जनता समाजवादी पार्टी होस् या लोकतान्त्रिक समाजवादी पार्टी या राप्रपाका साथीहरु । तपाईंले थाहा पाई नै सक्नुभएको छ, नेकपा मालेका मेयर पदका उम्मेदवारले त विज्ञप्ति निकालेर नै मलाई समर्थन गर्नुभएको छ । यस अर्थ होस् या मैले भन्दै आएको छु, म जमिनको मान्छे हो, त्यसैले यहाँका सामान्य नागरिकको पनि म साथी हो त्यसैले सबैको अपनत्व म सँग छ , साथ मलाई छ । विश्वास म सँग छ । त्यस्तै विश्वास मलाई पनि महानगरबासीमा छ । त्यसैले म ढुक्क छु । अर्को तर्फ विराटनगर महानगरलाई समृद्ध बनाउने योजना हामीले घोषणा पत्रमा समेटेका छौं । हामी घोषणापत्रका हरेक बुँदालाई प्रभावकारी कार्यान्वयन गर्दै जानेछौं । जनताका आधारभूत कुरामा हाम्रो पहिलो प्राथमिकता हुनेछ । यति मैले भनेपछि मलाई मत दिनुपर्ने आधार थप भन्नुपर्छ जस्तो लाग्दैन । म महानगरबासीको साझा उम्मेदवार हो ।

औद्योगिक शहर विराटनगरको साख कसरी जोगाउनुहुन्छ ?

विराटनगर जुट मिलको स्थापनासँगै विराटनगरको पहिचान औद्योगिक शहरको रुपमा स्थापित भएको हो । विराटनगरको दक्षिण क्षेत्रमा कुनै समय पाइलै पिच्छे उद्योगहरु थिए, त्यसैले त्यस क्षेत्रको नाम नै मिल्सएरिया रहन गयो । यहाँको उद्योग कलकारखानाका कारण विराटनगर आर्थिक रुपले पनि सम्पन्न थियो । तर पछिल्लो समय उद्योगी व्यवसायीहरु पलायन हुने र यहाँको उद्योगहरु धरासायी बन्न थाले । हामी उद्योगलाई पुनर्जीवित गर्दै विराटनगरमा औद्योगिक क्षेत्र बनाउने उद्योगहरुलाई उद्योग खोल्ने वातावरण बनाउँछौँ । त्यसका लागि विराटनगरले उद्योगी व्यवसायीमैत्री कर प्रणालीको व्यवस्था गर्न हाम्रो प्रयत्न रहन्छ । महानगरभित्र सुविधासम्पन्न औद्योगिक, व्यापारिक प्रदर्शनीस्थल र अन्तर्राष्ट्रिय स्तरको बनाउने छौ । नेपाल सरकारबाट प्रस्तावित सुख्खा बन्दरगाहा सहितको विशेष आर्थिक एवम् निर्यात प्रवद्र्धन क्षेत्र निर्माण गर्ने छौ । गरिवीको रेखामुनी रहेका घर परिवारलाई लक्षित गरी निःशुल्क विद्युत जडान सहित अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराउने छौ । त्यसैगरी महानगरले उपलब्ध गराउने सेवाहरुलाई डिजिटलाइजेसन गर्दै झण्झटमुक्त प्रशासन बनाउने छौँ । महानगरका कर्मचारीहरुलाई उद्योगी व्यवसायी मैत्री व्यवहार सिकाउने छौ । उद्योग व्यवसायीका लागि के कस्ता योजनाहरु बनाउने सकिन्छ उनीहरुसँग छलफल गर्ने छौ, उद्योगी व्यवसायीलाई परेका हरेक समस्यामा हामी केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर औद्योगिक वातावरण बनाउने छौँ । विराटनगरमा एउटा भव्य प्रदर्शनी स्थल बनाउने प्रतिबद्धतासहित हामी अघि बढेका छौँ ।

विराटनगर महानगरभित्र सुकुम्बासी समस्या पनि उस्तै छ ,त्यसका लागि के कस्तो योजना छन् ?

वास्तविक सुकुम्वासीको पहिचान गरी, प्राथमिकताका आधारमा सबैको घर निर्माण गरिने छ । कुनैपनि सुकुम्बासी परिवार घरबारविहिन हुने छैनन् । विराटनगरमा रहेका सुकुम्बासी बस्तीहरुलाई सडक, विद्युत, खानेपानी जस्ता पूर्वाधारले जोड्ने आवश्यक रोजगारी सिर्जना गर्ने योजना ल्याउने छौ ।

वर्षायाममा विराटनगरका अधिकांश क्षेत्रहरु डुवानमा पर्छन । डुबानमुक्त बनाउने योजना कस्तो छ ?

डुबान क्षेत्रको पहिचान गरि त्यसलाई ठोस योजना बनाएर अघि बढ्छौं । डुबान मुक्त हुनका लागि ढलहरुको निर्माण र खोलाहरुमा तटबन्ध र त्यस छेउका बस्तिको व्यवस्थापन गर्नुपर्छ । त्यो हामी गर्छौं ।

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि तपाईको योजनाहरु के हो ?

हामी सार्वजनिक विद्यालयलाई स्तरोन्नती गर्दै गुणस्तरीय शिक्षालय बनाउछौँ । निजी विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौँ । सबै खालका शैक्षिक संस्था खोल्न र त्यसलाई गुणस्तरीय बनाउन हामी ठोस योजनाका साथ अघि बढ्छौँ । समुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने छौँ । विराटनगरमा भइरहेका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई व्यवस्थित गर्दै मेट्रो अस्पताल निर्माण गर्ने छौँ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने छौँ । निशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउने छौँ । त्यस्तै सबै नगरबासीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरी अस्पतालबाट सरल, सहज र व्यवस्थित स्वास्थ्य सेवा प्रदान गर्नेछौ, गरिवीको रेखामुनी रहेका नागरिकलार्य सुगर, प्रेसर थाइराइडलगायत दीर्घ रोगको औषधी निःशुल्क उपलब्ध गराउने छौ । गर्भवती आमा पोषण कार्यक्रम सञ्चालन गर्ने छौ । रानी स्वास्थ्य चौकीलार्य २५ सयैका अस्पतालमा स्तरोन्नति गर्ने छौ ।

योजना कार्यान्वयन गर्नको लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

संघीय तथा प्रदेश सरकारसँगको समन्वय र अनुदानहरु, दातृ निकायसँगको सहकार्य र आन्तरीक स्रोतहरुको पहिचान र करका नयाँ क्षेत्रहरु खोजि गरि स्रोतको व्यवस्थापन गरिनेछ । त्यस बाहेक पनि आयस्रोतका नयाँ क्षेत्रहरुको पहिचान गर्ने छौ ।

Back to top button