पूर्वाधार निर्माण गरेर सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्न सकिन्छ: देउवा

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताउनुभएको छ ।

डडेल्धुरा दरमुकाममा आयोजित चुनावी सभामा देउवाले पूर्वाधार तयार गर्न सकिए अझै प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने बताउनुभएको छ ।

आज जिल्ला सदरमुकाममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेकोसमेत बताउनुभएको हो ।

बाटोघाटो, सडक कालोपत्रे, बागबजार सडक चौडालगायत खानेपानी र स्वास्थ्य तथा बेरोजगारी हटाउन पहल गर्ने देउवाले जानकारी दिनुभयो। पश्चिम सेतीसँगै पञ्चश्वर बहुउद्देश्यीय परियोजना पनि चाडै भारत सरकारसँग समन्वय गरि संचालनमा ल्याउनका लागि कुराकानी भइरहेको उहाँको भनाइ छ।

‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौं। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने उहाँको दाबी छ।

प्रधानमन्त्री देउवाको आजै परशुराम नगरपालिकाको लालढुगांको चुनावी आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै प्रधानमन्त्री देउवा मतदानका दिनसम्म जिल्ला सदरमुकाममा बस्ने जनाइएको छ।

Back to top button