भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनाको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनाको एक टोली रुपन्देही आएको छ।

भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको हो।

भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान आएको बताइएको छ।

भारतीय वायुसेनाको इलुसियन विमान आइसी–७६ दिल्लीबाट काठमाडौं हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले जानकारी दिनुभयो।

जहाज आज बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो।

भारतीय सेनाको यो जहाज नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तर्राष्ट्रिय विमान भएको प्रवक्ता शाहले बताउनुभयो।

भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता जाने प्रवक्ता शाहले बताउनुभयो। यो विमानस्थल जेठ २ गते नै औपचारिक उद्‌घाटन हुँदैछ।

Back to top button