महिला हत्या आरोपमा जनप्रतिनिधि सहित माओवादीका तीनजना पक्राउ

रुकुम । महिलाको हत्या आरोपमा रुकुम पूर्वमा जनप्रतिनिधिसहित तीनजना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा जनप्रतिनिधि सहित तीनजना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका हुन्। पुथाउत्तरगंगा–११ का वडाध्यक्ष एवं माओवादी केन्द्रका जयकुमार बुढा, माओवादी केन्द्र तर्फबाट वडाध्यक्ष उम्मेदवार कुमार सुनार र माओवादी केन्द्रका कार्यकर्ता अर्जुन बुढालाई प्रहरीले आज नियन्त्रणमा लिएको हो।

३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्याको आरोपमा उहाँहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। वैशाख २६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिजो रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। महिला हत्या आरोपमा किटानी जाहेरीपछि उहाँहरूलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो।

रोल्पाको थवाङ गाउँपालिका–१, घर भई माइतमा नै बस्दै आएकी जुनमाया १९ गते रातिदेखि हराउनुभएको थियो। १९ गते राति हराउनुभएकी उहाँको शव २६ गते बिहान साढे ९ बजेतिर स्थानीय जंगलमा भेटिएको थियो। महिलाको शव भेटिएलगत्तै प्रहरीले उहाँहरूलाई पक्राउ गरेको थियो।

चुनाव प्रचार–प्रसारका क्रममा वडा नम्बर ११ को तल्लोसेरामा एमाले र माओवादी केन्द्र कार्यकर्ताबीच १९ गते राति विवाद भएको थियो। झडपको केही समयपछि नै ती महिला बेपत्ता भएको बताइएको छ। २० गते परिवारले प्रहरीमा बेपत्ता भएको भन्दै खबर गरेका थिए। खोजतलासकै क्रममा २६ गते बिहान महिलाको शव भेटिएको डीएसपी डाँगीले बताउनुभयो।

जिल्ला अस्पतालमा रहेका चिकित्सकले पोष्टमार्टम गर्न नमानेपछि शव बुटवल पठाएर पोष्टमार्टम गरिएको थियो। आज प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको टोली घटनास्थलतर्फ गएको छ।

नेकपा एमालेले माओवादी कार्यकर्ताले महिलाको हत्या गरेको आरोप लगाएको छ। त्यस्तै माओवादीले भने विवादको क्रममा एमाले र कांग्रेस कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि कुटपिट गरी महिलालाई बेपत्ता बनाएको आरोप लगाएको छ।

माओवादीका कार्यकर्ताले बलात्कार गरेर महिलाको हत्या गरेको दाबी गर्दै आएको छ। एकअर्कालाई आरोप लगाउँदै एमाले जिल्ला अध्यक्ष टोपबहादुर ओली र माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले विज्ञप्ति जारी गर्नुभएको छ ।

Back to top button