खेलाडी चौधरीको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

कोहलपुर । भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । मन्त्री आज बिहान बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुग्नुभएको थियो।

हिजो काठमाडौंमा मृत अवस्थामा भेटिएको चौधरीको शव उहाँको गृहनगर बाँके लगिएको छ। बाँकेको राप्तीसोनारी–३ बेलासपुरस्थित घरमा आज चौधरीको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो।

श्रद्धाञ्जलि सभामा बोल्दै मन्त्रीले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘खेलाडी चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको छ।’

तेह्रौं दक्षिण एशियाली खेलकुदमा भारोत्तोलनमा स्वर्ण पदक विजेता खेलाडी चौधरी एशियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आउनुभएको थियो।

ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा बस्दै आउनुभएको २३ वर्षीया चौधरी हिजो बिहान ५ः३० बजे मृत अवस्थामा भेटिनुभएको थियो।

Back to top button