मोरङको मिक्लाजुङमा बम विस्फोट

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा हिजो मध्यरातमा बम विष्फोट भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार भौगोलिक रूपमा अति विकट रहेको गाउँपालिका १ मा विस्फोटको आवाज सुनिएको हो।

सोही गाउँपालिकाको बर्खेमा आज बिहानीपख बमजस्तो शंकास्पद वस्तुसमेत फेला परेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थानमा राति बम विष्फोट गराइएको हो। स्थानीय सरस्वती आधारभूत विद्यालय नजिकको क्षेत्रमा प्रेसर कुकर भेटिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

विद्यालयबाट करिब ४० मिटरको दुरीमा प्रेसर कुकरमा खतरा संकेतसहित विद्युतीय तारहरू निकालिएको अवस्थामा सडकमा भेटिएको उहाँको भनाइ छ।

घटनास्थललाई घेरबार गरी सुरक्षित राखिएको र नेपाली सेनाको बम निष्क्रिय टोली त्यसतर्फ जाँदै गरेको बताइएको छ।

विद्यालयका शिक्षक मदन श्रेष्ठले सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएपछि प्रहरीलाई खबर गरिएको बताउनुभयो। श्रेष्ठले राति करिब ११ देखि १२ बजेको समयमा ठूलो आवाजसहित विष्फोट भएको आवाज सुनिएको जानकारी दिनुभयो।

यस्तै, प्रहरीका अनुसार शंकास्पद वस्तु भेटिएको स्थान मिक्लाजुङको रमितेबाट करिब १२ किलोमिटर पूर्व र उर्लाबारीबाट लगभग ३२ किलोमिटर उत्तरमा पर्छ।

Back to top button