भोलि हुने मतदानका लागि शीर्ष नेताहरु चितवनमा

चितवन । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन आइसकेका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन आइपुग्नुभएको हो ।

प्रचण्ड हिजो चितवन आइपुग्नुभएको हो । उहाँ गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उहाँको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदानस्थल उहाँ लगायत एक हजार ६ सय ७८ जना मतदाता छन् ।

यस्तै, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट भोलि मतदान गर्नुहुनेछ । उहाँले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्नुहुने छ । सो मतदानस्थलमा ३ हजार ६५ मतदाता छन् ।

यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै हुनुहुन्छ। उहाँले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नुहुनेछ । सो मतदानस्थलमा भने पाँच हजार ८ सय ३६ मतदाता छन् । एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचार–प्रसारमा जिल्लामा आएर बस्नुभएको हो ।

यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनकी रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४ र एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्दै हुुनुहुन्छ। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नुहुनेछ ।

Back to top button