मबिरुद्ध मौन अवधिमा दुष्प्रचार भयोः शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै फेसबुकमार्फत खण्डन गर्नुभएको छ ।

उहाँले मौन अवधिमा आफूबिरुद्ध दुष्प्रचार भएको भन्दै खण्डन गर्नुभएको हो । उहाँले कुनै पार्टी प्रवेश नगरेको र कुनै पार्टीका उम्मेदवारहरुलाई समर्थन नगरेको भन्दै निराधार हल्ला फैलाइएको भन्दै खण्डन गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरु फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ, हामी स्वतन्त्र छौं।’

उहाँले मौन अवधिपूर्व मतदाताहरुको ‘घरदैलोमा प्रवेश’ गर्ने र मतदाताहरुको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरु नगरेको बताउनुभएको छ ।

उहाँ निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ उम्मेदवारहरुले आफ्ना मतदातालाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयंले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने भएको बताउँदै यसरी सही उम्मेदवारलाई मतदान गर्न सकिने बताउनुभएको छ ।

लोकतन्त्रको यो उत्तम तरिका भएको र यही समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक भएको र मतदाताहरुमाथिको अन्याय भएको शाहले फेसबुकमार्फत लेख्नुभएको छ ।

मतदाताहरुलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज भएको र यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरुप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरु सजग रहन पनि शाहले अपिल गर्नुभएको छ ।

Back to top button