शिल्पा कार्की विरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चको ठहर,उम्मेदवारी सदर

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपप्रमुख (उपमेयर) पदकी उम्मेदवार शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटमाथि सुनुवाइ सकिएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार जसपाका अमरेन्द्रकुमार यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिनुभएको थियो ।

सर्वोच्चले अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । आज दुवै पक्षका कानुन व्यवसायीको बहश सुनेपछि सर्वोच्चले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी नपर्ने ठहर गरेको हो । यो सँगै कार्कीको उम्मेदवारी सदर भएको छ ।

Back to top button