स्याङ्जा जिप दुर्घटना, मृतक १४ जनाकै सनाखत

काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ। मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–१४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, कोर्ट कुमारी कुँवर, ज्ञानदली कुँवर र जानुका कुँवर रहेको प्रहरीले जनाएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप आज बिहान दुर्घटना भएको थियो । दुर्घट्नामा परि अन्य ११ जना घाइते भएका छन् । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

दुर्घट्ना परी १३ जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ। घट्ना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।

Back to top button