बागलुङमा झडप हुँदा २ जना घाइते,एकको अवस्था गम्भीर, मतगणना प्रभावित

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा झडप हुँदा मतगणना प्रभावित बनेको छ। मतगणनाको विषयमा दुई पक्ष बीच झडप हुँदा मतगणना प्रभावित बनेको हो। झडपमा २ जना घाइते भएका छन्। जस मध्ये एकको अवस्था गम्भीर रहेको छ।

झडपमा ढोरपाटन नगरपालिकाका २६ वर्षीय भीमबहादुर विक र वडा–१ का ४० वर्षीय खुमबहादुर विक घाइते हुनुभएको छ । घाइते भिम बहादुरको अवस्था गम्भीर रहेको छ। उहाँलाई हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रमुख राजेशकुमार शर्मा अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार गएराति १२ बजे दुई गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको थियो। झडपका कारण आज दिउँसोसम्म पनि मतगणना भएको छैन। मत गणनाका लागि गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको प्रहरीको भनाई छ।

निर्वाचन कार्यालय ढोरपाटनका निर्वाचन अधिकृत लाल सिंह थापाले सर्व दलीय बैठक राखेर तत्काल मतगणना गरिने बताउनुभएको छ । हिजो ढोरपाटनको सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको थियो। ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको ढोरपाटनमा १२ हजार १ सय मत खसेको थियो। जुन ६९ दशमलव १३ प्रतिशत हो।

यस्तै, ढोरपाटन नगरपालिकामा कुल मतदाता १७ हजार ६ सय ३० रहेका छन्।

Back to top button