मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले निर्वाचित हुनुभएको छ । उहाँ ८ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७ सय १९ मत प्राप्त गर्नुभएको छ । यस्तै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ धावा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ७ सय ४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रिन्जेन ध्वर्जे गुरुङले ७ सय १९ मत प्राप्त गर्नुभएको छ ।

मनाङ ङिस्याङ गाउँपालिकामा कूल ३ हजार ५ सय ३५ मतदातामध्ये १ हजार ६ सय ५७ मत मात्रै खसेको थियो । नासों गाउँपालिकाको मतगणना जारी रहेकोले आज साँझसम्ममा गणना सकिने अपेक्षा गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताउनुभयो । उक्त गाउँपालिकाको अध्यक्षमा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसको अग्रता कायम रहेको उहाँले बताउनुभयो ।

उपाध्यक्षमा सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको हो ।

नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।

Back to top button