लिभरपुल र चेल्सी एफ ए कपको फाइनलमा भिड्दै

काठमाडौं । सिजनमा दोस्रो उपाधिका लागि लिभरपुल पुनः चेल्सीसँग आज प्रतिस्पर्धा गर्दै छ। एफ ए कपको फाइनलका लागि लिभरपुलले अर्को चीरपरिचित प्रतिद्वन्दी चेल्सी विरुद्ध वेम्बली मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो।​

विगत फेब्रुअरीमा वेम्बली मैदानमा भएको खेलमा निर्धारित समय गोल रहित बराबरी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुलले चेल्सीलाई पराजित गर्दै कारबाओकपको उपाधि जितेको थियो। सोही मैदानमा आज चेल्सी लिभरपुल विरुद्ध बदलाका लागि मैदानमा उत्रिँदै छ।

एफए कपको फाइनलमा जित्दै लिभरपुल सिजनको दोस्रो उपाधि भित्र्याउने ध्याउन्नमा रहँदा चेल्सी भने पहिलो उपाधिका लागि मैदानमा उत्रिने छ। जारी सिजन लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ भने एफए कप सहित प्रिमियर लिगको पनि उपाधि होडमा कायम छ।

यस्तै, आठ पटकको एफए कप विजेता चेल्सीले थोमस टुचेलको प्रशिक्षणमा सन् २०२० मा आर्सनलसँग पराजित हुँदै फाइनल गुमाएको थियो। त्यस्तै सन् २०२१ मा लेस्टर सिटीसँग पराजित भएको चेल्सी लगातार तेस्रो सिजन फाइनल प्रवेश गरेको छ। यो पटक भने लगातारको हारको इतिहास परिवर्तन गर्ने ध्याउन्नमा रहेको छ। उत्कृष्ट लयमा रहेको लिभरपुल विरुद्ध उपाधि होड सहज नभएको प्रशिक्षक टुचेलले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘लिभरपुल पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको छ। यो प्रतिस्पर्धा निकै कठिन हुने छ। त्यसो त एफए कपको फाइनल सधैँ प्रतिस्पर्धात्मक नै रहँदै आएको छ।’ उहाँले उपाधिका लागि आफूले सबैखाले प्रयास गर्ने बताउनुभयो। उहाँले भन्नुभयो,‘लण्डनमा लिभरपुलप्रति सबैको ठूलो सहानुभूति रहने गर्छ। जुन लिभरपुलको मिहिनेतको सम्मानपनि हो। तर हामीलाई सहानुभूति हैन उपाधि चाहिएको छ। सोहि अनुसार खेल्छौँ।’

लिभरपुल भने सन् २०१२ पछि पहिलो पटक एफ ए कपको फाइनलमा प्रतिस्पर्धा गर्दै छ। लिभरपुल आफ्नो अन्तिम फाइनल खेलमा चेल्सीसँग नै २–१ ले पराजित भएको थियो। लिभरपुलका मुख्य प्रशिक्षक क्लोपले क्लबका समर्थकहरुलाई निराश नबनाउने बताउनुभयो। उहाँले भन्नुभयो,‘क्लबका समर्थकहरु उपाधिको खुशी साट्न आउने छन्। उनीहरुको उत्साहलाई निराश पार्ने छैनौँ।’ फाइनल निकै रोचक हुने छ।​

क्लोप च्याम्पियन्स लिग, कारबाओ कप र एफए कपको फाइनलमा पुग्ने पहिलो प्रशिक्षक हो। एफए कपमा दुई टोलीबीच अन्तिम पटक सन् २०२० मा पाचौँ चरणमा भेट भएको थियो। उक्त खेलमा चेल्सीले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

Back to top button