भरतपुर महानगर–१ मा गठबन्धनको जित

चितवन । भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी हुनुभएको छ ।

महर्जनले १ हजार ३ सय ९० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले १ हजार ३ सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उक्त वडामा ३ हजार २ सय ७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ।

उहाँले उक्त वडामा १ सय २१ मतले अग्रता लिनुभएको हो । दाहालले १ हजार २ सय ८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले १ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ सय ३० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ हजार ३ सय ६२ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८ सय ७७ मत पाउनुभएको छ । महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो।

यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँचदलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ।

Back to top button