भरतपुरमा मतगणना स्थगित

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणना विवादका कारण स्थगित भएको छ । एमालेले बदर मतका विषयमा विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएपछि निर्वाचन प्रमुखले मत बदर गरेका थिए । तर, एमालेले चाहिँ उक्त मत सदर गर्नुपर्ने बताएको छ । मतगणना स्थलमा रहेका एमाले कार्यकर्ता अस्मिन घिमिरेले निर्वाचन प्रमुखले दोहोरो व्यवहार देखाएको बताउनुभयो ।

‘हिजो आधी छाप देखिएको हकमा पनि सदर गरिएयो, तर आज त्यस्तै मतपत्र बदर भनियो,’ उहाँले भन्नुभयो, ‘अर्को उम्मेदवारको पक्षमा दोहोरो व्यवहार देखाएपछि हामी विरोध जनाएर बाहिर निस्किएका छौं ।’

मतगणना सुचारु गर्ने विषयमा अहिले छलफल जारी छ । पछिल्लो परिणामअनुसार यहाँ मेयरमा रेनु दाहालले १ हजार ६ सय ११ मत ल्याउँदा एमालेका विजय सुवेदीले १ हजार ५ सय ४१ मत ल्याउनुभएको छ । बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ सय ३७ मत पाउनुभएको छ ।

Back to top button