एमालेले धाँधली भयो भनेर लगाएको आरोपप्रति कांग्रेसको आपत्ति

काठमाडौं । स्थानीय तहको चुनावका विषयमा नेकपा एमालेले धाँधली भयो भनेर लगाएको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

हिजो एमालेले चुनावका क्रममा सत्ता पक्षले धाँधली गर्‍यो भनेर १५ बुँदामा विज्ञप्ति निकालेको थियो। त्यसप्रति कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सुरुमा चुनाव सफलता पूर्वक भएकोमा धन्यावाद दिएको एमालेले गणना चलिरहँदा धाँधलीको आरोप लगाउनु लज्जास्पद भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘निर्वाचनको परिणाम आफूले दाबी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली गर्‍यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो।’

उहाँले कांग्रेसले सत्ता गठबन्धनले आचारसंहिताभित्रै रहेर चुनावी प्रतिस्पर्धा गरेको दाबी गर्नुभएको छ।

‘सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको हो । नेपाली कांग्रेसको सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पुर्‍याउन कहीकतै कमी गरेको छैन, कांग्रेसले अगाडि भनेको छ’उहाँले भन्नुभयो, ‘यो स्मरण गराउन चाहन्छौँ कि जबजब नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ तब मात्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्भव भएको छ।’

Back to top button