झापाको गौरीगञ्ज र शिवसताक्षीमा मतगणना प्रभावित

झापा । झापाको गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको मतगणना प्रभावित बनेको छ। गौरीगञ्ज वडा नम्बर १ मा खसेको मतभन्दा १ सय ७३ मत बढी देखिएको भन्दै नेपाली काँग्रेसका प्रतिनिधिले मतगणनामा धाँधली भएको आशङ्का व्यक्त गरेका छन्।

मतगणनामा विवाद उत्पन्न भएपछि हाल गणना स्थगित गरिएको छ। वडा नं १ मा ३८०८ मत खसेको मुचुल्कामा उल्लेख छ। आज बिहान सम्पन्न मतगणनामा मत सङ्ख्या ३९८१ पुगेको भन्दै कांग्रेसले धाँधली भएको आशङ्कासहित विरोध जनाएका हुन्। विवादका बीच मतदान अधिकृतको कार्यालयले ३८०४ मतको अन्तिम मत परिणाम सार्वजनिक गरिसकेको छ।

सार्वजनिक गरिएको मत परिणाममा वडाध्यक्षमा काँग्रेस र एमालेका उम्मेदवारको मत सङ्ख्या बराबर १ हजार १ सय ८१ देखिएको जनाइएको छ। यता कांग्रेसले भने आफ्ना प्रतिनिधिले हस्ताक्षर नै नगरेको मत परिणाम स्वीकार नगर्ने भन्दै विरोध जनाएको छ। गौरीगञ्जमा मतगणना स्थलमा विवाद देखिएपछि सर्वदलीय बैठक बसेर मिलाउने प्रयास भइरहेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो।

यस्तै उता शिवसताक्षी नगरपालिकाको मतगणना हिजो साँझबाटै रोकिएको छ। अहिलेसम्म मतगणना सुचारु हुन सकेको छैन। शिवसताक्षी–१ मा मतदानको दिन खसेको मत र मतगणना गर्दा मतपत्रको सङ्ख्या फरक देखिएपछि विवाद उत्पन्न भएको हो।

वडा नम्बर १ बाट वडाध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका दुर्गा नेम्बाङले आपत्ति जनाएपछि मतपत्र सङ्ख्या खोज्ने क्रममा गणना भएको मत हेर्दा ५४ मतपत्र हराएको देखिएको छ।

शिवसताक्षी–१ मा एमालेले जितिसकेको छ। मतगणनामा विवाद भएपछि निर्वाचन अधिकृतलाई कारबाही गरिएको छ। कारबाही स्वरूप शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। पौडेललाई फिर्ता बोलाएर मधु पोखरेललाई नयाँ अधिकृतका रूपमा शिवसताक्षी खटाउने कार्य भइरहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले बताउनुभयो।

Back to top button