आज विश्व दूरसञ्चार दिवस मनाइँदै

काठमाडौं । आज विश्व दूरसञ्चार र विश्व उच्च रक्तचाप दिवस नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ।

दूरसञ्चारमा भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरेर ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ।

सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो। सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो।

सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो। यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो।

सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौंमा जडान भएको थियो। त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो। सन् १९७४ मा माइक्रोवेभ लिंकलाई बिस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरिएको थियो।

यस्तै, सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो। सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भयो।

Back to top button