प्रदेश १ का दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षमा निर्वाचित

विराटनगर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुभएका दुई जना महिला पत्रकार प्रदेश १ का दुई गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पत्रकारिता छाडेर राजनीतिमा सक्रिय हुनुभएका नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहनुभएकी शान्ताकुमारी आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी उहाँले २ हजार ८ सय १९ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका प्रतिष्पर्धि नेकपा माओवादी केन्द्रका प्रजिन हाङवाङले २ हजार ४ सय १४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेकै दिपेन्द्र पोमु निर्वाचित हुनुभएको छ । पोमुले ३ हजार ३६ मत प्राप्त गर्दा कांग्रेसका विश्वनाथ सिटौलाले २ हजार ५ सय २६ मत ल्याउनुभएको छ ।

यस्तै पत्रकार महासंघ सोलुखुम्बु शाखाको उपाध्यक्ष हुनुभएकी विना राई नेचा सल्यान गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । कांग्रेसबाट उम्मेद्वार बन्नुभएकी उहाँले २ हजार ९ सय ६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँकी प्रतिष्पर्धि एमालेकी उम्मेदवार सिर्जना राईले १ हजार ७ सय १८ मत प्राप्त गर्नुभएको छ । उक्त गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका धनजन राई २ हजार ५ सय ७९ मतसहित विजयी हुनुभएको छ ।

अध्यक्षमा एमालेका डुफकुमार बाँस्तोलाले भने २ हजार ३ सय १३ मत पाउनुभएको छ । उम्मेदवार बन्नुअघि दुबै महिला पत्रकारहरुले पत्रकार महासंघको जिम्मेवारीबाट राजिनामा दिनुभएको थियो ।

Back to top button