लालबन्दीमा मतगणनामा विवाद हुँदा एमालेका कार्यकर्ताले गरे चक्काजाम

सर्लाही । सर्लाही जिल्लाको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन्। लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन्।

आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४ सय २७ मत खसेको भनी मुचुल्का उठाइएको भए पनि मतगणना गर्दा १ हजार ४ सय १८ वटा मतपत्र मात्रै भेटिएका छन्।

९ वटा मत कमी भएपछि एमालेका कार्यकर्ताहरू राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काजाममा उत्रिएका हुन्। एमालेका कार्यकर्ताले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन्।

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गतराति नै लालबन्दी–८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको जनाएको छ। पाख्रिन ४ सय ६० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले ४ सय ४४ मत ल्याउनुभएको छ । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ।

लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएभन्दा ९ मत कम देखिएको स्वीकार गर्नुभएको छ । उहाँले यसबारे निर्वाचन आयोगमा लेखेर पठाउने तयारी गरिरहेको बताउनुभयो।

Back to top button