घरायसी विवादमा भाईले दाजुलाई गोली हानेपछि…

जनकपुर । धनुषाको नगराईन नगरपालिका– ८ मा घरायसी विवादमा गोली चलेको छ । घरायसी विवाद उग्र बन्दै गएपछि स्थानीय ५० वर्षीय श्रीनारायण पासवानले आफ्नै दाजु ७१ वर्षीय जामुन पासवानलाई गोली हानेको प्रहरीले जनाएको छ ।

जामुनको दाहिने हातको पाखुरामा गोली लागेको छ । विवाद बढ्दै गएपछि कुटाकुट भएको थियो । सोहि क्रममा गोली चलेको हो । घाइते जामुनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप क्षेत्रीले जानकारी दिनुभयो ।

दाजुभाईबिच बिगत ५ वर्ष यता पटक पटक झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा छानबिनका लागि ११ जनालाई नियन्त्रणमा लिइएको छ ।

स्थानीय ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजय कुमार पासवान र राजन पासवानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Back to top button