कानेपोखरीमा एमालेका इङ्नाम र अधिकारी विजयी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

हिजो बेलुका सम्पन्न मतगणनाको परिणाम अनुसार कानेपोखरीको अध्यक्षमा एमालेकी राजमती इङ्नाम र उपाध्यक्षमा भोलाप्रसाद अधिकारी निर्वाचित भएको निर्वाचन अधिकृत गणेश नायकले बताउनुभयो ।

अध्यक्षमा निर्वाचित इङ्नामले ८ हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संजय भट्टराईले ६ हजार ४६ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा निर्वाचित इङ्नाम यसअघि सोही पालिकाको उपाध्यक्ष हुनुहुन्थ्यो ।

त्यसैगरी उपाध्यक्षमा निर्वाचित अधिकारीले ९ हजार ५ सय ७० प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले ७ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको छ । कानेपोखरीमा एमालेले वडा नम्बर १ र ४ बाहेकका अरु वडामा वडाध्यक्ष समेत जितेको छ ।

वडा नं. २ मा शुशिल बुढाथोकी, ३ मा गोपाल बहादुर कार्की, ५ मा चरण गुरुङ, ६ मा खड्ग बहादुर बस्नेत र ७ मा मोहन प्रसाद अधिकारी एमालेबाट वडाध्यक्ष निर्वाचित हुनुभएको छ । कांग्रेसबाट १ मा रत्न बहादुर कार्की र ४ मा रमेश राउत विजयी हुनुभएको छ ।

Back to top button