पोखरामा गणना ढिला भएपछि दुईवटा गणनास्थल थप

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्कीका पाँच पालिकाहरुमध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ।

मादी, रूपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ।

वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकोमा महानगरका ३३ वडामध्ये हालसम्म वडा नं १, २, ४, १२ र २३ को मात्र अन्तिम परिणाम घोषणा भएको छ। वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २ सय २६ मत खसेकोमा चार दिनमा ३१ हजार मतमात्र गणना गरिएको छ।

पोखरामा अझै २९ वडाको परिणाम आउन बाँकी छ। मतगणना सुस्तगतिमा भइरहेकाले पोखरा अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुईवटा गणनास्थल थप गरेको छ।

मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार गएरातिदेखि दुई मतगणनास्थल थप गरिएको हो।

पोखराका गणना अहिले नगर विकास समितिको सभाहल र जिल्ला समन्वयको हलमा छ।

मतगणनास्थलको १० सर्कलबाट भइरहेकोमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको भवनमा गणनास्थल थप गरिएको हो। गणनास्थल थपपछि गणना छिटो हुने विश्वास लिइएको छ।

पोखरामा अहिलेसम्म ३१ हजार मतगणना सकिँदा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १२ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका कृष्णबहादुर थापाले ११ हजार १ सय ५० मत ल्याउनुभएको छ।

यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १३ हजार २ सय ३३ मतसहित अग्रता बनाउनुभएको छ । एमालेकी मञ्जुदेवी गुरुङको १२ हजार ७ सय २८ मत ल्याउनुभएको छ ।

Back to top button