चिनियाँ राजदुत यान्छी र गृहमन्त्री खाँण बिच भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज मध्यान्ह गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गर्नुभएको छ । यान्छीले सिंहदरबार पुगेर गृहमन्त्रीसँग भेट गर्नुभएको हो ।

नेपालमा समेत रहँदै आएका तिब्बती शरणार्थी मामिला हेर्दै आउनुभएकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया शुक्रबार नेपाल आउदै हुनुहुन्छ । उहाँ आउनुअघि राजदूत यान्छीले गृहमन्त्रीलाई भेट्नुभएको हो ।

दुईजनाबीचको यो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको मन्त्रालयले जनाएको छ। तर प्रवासमा रहेका लगायत सम्पूर्ण तिब्बतीहरुको मानवीय आवश्यकता, तिब्बतसम्मको पहुँच बढाउँदै लैजान, तिब्बती पठारमा देखिएका वातावरणीय तथा पानी सुरक्षाका चुनौतीको अध्ययन गर्ने जिम्मेवारी बोकेकी अमेरिकी मन्त्री आउनै लाग्दा यान्छीको भेटलाई अर्थपूर्ण मानिएको छ।

अमेरिकी उपविदेशमन्त्री उज्रा जिया अहिले भारतको नयाँ दिल्लीमा हुनुहुन्छ । उपविदेशमन्त्री जियाको भ्रमणमा लोकतन्त्र सम्बन्धी शिखर सम्मेलनको यस वर्षको कार्ययोजनाबारे भारत र नेपालसँग छलफल हुने मन्त्रालयले जनाएको छ।

Back to top button