आजदेखि हलमा ‘लाइफ इन एल ए’ सँगै ‘धाकड’ र ‘भुल भुलैया २’ रिलिज

काठमाडौं । आजदेखि तीनवटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। नेपाली फिल्म ‘लाइफ इन एल ए’ तथा दुईवटा बलिउड फिल्म ‘धाकड’ र ‘भुल भुलैया २’ ले एकसाथ प्रदर्शन थालेका हुन्।

सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको नेपाली फिल्म ‘लाइफ इन एल ए’ ले हलमा अत्यन्त न्यून शो पाएको छ। पढाइ तथा रोजगारका शिलशिलामा विदेशमा रहेका नेपालीहरूको कथा रहेको फिल्ममा शिल्पा मास्के, गौरव पहारी, अकेशा विष्ट, व्यास बिसु लगायतका लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको फिल्मले हलमा दर्शक भने तान्न सकेको छैन। १० देखि १५ प्रतिशत मात्रै सो पाएको फिल्मको पहिलो दिनका अधिकांश सोमा ५० प्रतिशतभन्दा कम दर्शक छन्।

सर्वाधिक शोका साथ प्रदर्शनमा आएको बलिउड फिल्म ‘भुल भुलैया २’ मा पनि दर्शकको उपस्थिति औसत मात्रै छ। आज बिहानका केही सोमा ५० प्रतिशत दर्शक थिए। दिउँसोका सोमा भने दर्शकको चाप बढ्ने देखिएको छ। फिल्मले मल्टिप्लेक्समा सबैभन्दा धेरै ३५ देखि ४० प्रतिशत सो पाएको छ।

अनिस बाज्मीको निर्देशनमा बनेको हरर कमेडी फिल्ममा कात्तिक आर्यन, कियरा अडवानी, तबु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सन २००७ मा आएको सफल फिल्म ‘भुल भुलैया’को सिक्वेलको रुपमा भुल भुलैया २ बनाइएको हो।

त्यस्तै रजनिस घाइको निर्देशनमा बनेको एक्सन थ्रिलर ‘धाकड’ले मल्टिप्लेक्समा २५ देखि ३० प्रतिशतसम्म शो पाएको छ। कंगना रतौत, अर्जुन रामपाल, दिव्य दत्त लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्ममा पनि दर्शकको चाप भने न्यून छ।

यीबाहेक हलमा ‘डाक्टर स्ट्रेन्ज इन म्याडनेस अफ मल्टिभर्स’, ‘रनवे ३४’ र ‘केजिएफ च्याप्टर २’ पनि हलमा छन्। आजदेखि ‘केजिएफ २’ छैटौँ हप्तामा प्रवेश गरेको छ भने डाक्टर स्ट्रेन्ज र रनवे ३४ तेस्रो हप्तामा प्रवेश गरेको छ।

Back to top button