कांग्रेसको विजय जुलुसमा सहभागीमाथि एमालेको आक्रमण, ६ जना घाइते

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर–२७ मा नेपाली कांग्रेसको विजय जुलुसमा सहभागीमाथि आक्रमण हुँदा ६ जना घाइते भएका छन्।

वीरगन्ज–२७ को वडा अध्यक्षमा कांग्रेसका हृदयनारायणप्रसाद कुर्मी विजयी भएपछि गएराति कांग्रेसले विजय जुलुस निकालेको थियो। कांग्रेसको विजय जुलुसमा वडाअध्यक्षमा पराजित नेकपा एमालेका प्रदीपकुमार यादवका समर्थकहरुले आक्रमण गर्दा विजय जुलुसमा सहभागी ६ जना घाइते भएका हुन्। जुलुसमा एमालेबाट पराजित यादव र उहाँका समर्थकहरुको समूहले आक्रमण गरेको कांग्रेसको आरोप छ।

आक्रमणमा परी स्थानीय ५८ वर्षीय नेमा रेशा, ३० वर्षीया आयसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते हुनुभएको हो । उहाँहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ४ जना उपचारपछि घर फर्कि सकेको तथा महम्मद मियाँ र आयसा खातुनको वीरगन्ज स्थित नारायणी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर–२७ को वडाअध्यक्षमा १ हजार ५ सय १६ मतका साथ कांग्रेसका कुर्मी विजयी हुनुभएको थियो। निवर्तमान वडा अध्यक्ष एंव एमाले उम्मेदवार यादव भने कुर्मीभन्दा ४ सय ५ मत कम अर्थात १ हजार १ सय १६ मत पाएर पराजित हुनुभएको थियो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षमा पराजित यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। यादव सहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै,घाइतेहरुले आक्रमणमा वडाअध्यक्षमा पराजित निवर्तमान वडाअध्यक्ष यादवको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि उहाँसहित ३ जनालाई ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।

Back to top button