अमेरिकी उपमन्त्री जिया नेपालमा

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री एवं नागरिक, लोकतन्त्र र तिब्बत मामिला संयोजक उज्रा जिया काठमाडौं आइपुग्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपविदेशमन्त्री जियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ ।

भारतको हिमाञ्‍चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उहाँ आज काठमाडौं आइपुग्नुभएको हो । जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुनुहुन्छ ।

नेपाल बसाईका क्रममा अमेरिकी उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।

अमेरिकी सरकारको तर्फबाट तिब्बती मामिला संयोजक जियाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पछिल्लो अवस्था र समस्याको बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

उपमन्त्री एवं तिब्बती मामिला हेर्ने अमेरिकी संयोजक जिया नेपाल आउने समाचार सार्वजनिक भएपछि चीनले उहाँको भ्रमणलाई नजिकबाट नियालेको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार नै गृहमन्त्री खाँणलाई भेटी अमेरिकी उपमन्त्रीको भ्रमणबारे चासो राख्नुभएको थियो ।

गृह स्रोतका अनुसार, राजदूत यान्छीले नेपालले लिएको एक चीन नीतिको अडान कायमै रहनेमा आफू विश्वस्त रहेको गृहमन्त्री खाँणसँग भन्नुभएको थियो । जवाफमा गृहमन्त्री खाँणले नेपाल–चीन सम्बन्ध र चीनको सुरक्षा मामिलामा आफू संवेदनशिल रहेको जवाफ दिनुभएको थियो ।

Back to top button