विराटनगर महानगर प्रमुखमा नागेश र उपप्रमुखमा शिल्पा जित नजिक

विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा अन्तिम चरणतिर पुग्दै गर्दा प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्की जित नजिक पुग्नुभएको छ ।

महानगरमा खसेको ८९ हजार ६ सय ८९ मतमध्ये ७८ हजार ६ सय ४६ मत गणना भइसकेको छ । अब ११ हजार ४३ मत गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अहिलेसम्म भएको गणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइरालाले २५ हजार ७ सय ४३ मतसहित अग्रता कायम राख्नुभएको छ भने निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका सागर थापाले १९ हजार १ सय २९ रहेको छ ।

मेयर पदमा स्वतन्त्र उम्मेदवार उमेश यादवले ७ हजार ८ सय ७६ मत ल्याउँदा राप्रपाका प्रल्हाद साहले ४ हजार ७ सय ७६ मत पाउनुभएको छ ।

महानगरको उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले २२ हजार ४ सय १० मतसहित ९७९८ मतको अग्रता कायम राख्नुभएको छ । निकटतम् प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १२ हजार ६ सय २१ मत ल्याउनुभएको छ ।

उपमेयरमा राप्रपाकी विन्दा लुईंटेलले ५ हजार ८ सय ३४ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हजार ६ सय १० मत पाउनुभएको छ ।

विराटनगगरको आज मध्यरातसम्म गणना सम्पन्न हुनेगरि काम भइहरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब महानगरका ६, ७, ९, १० र ११ नम्बर वार्डको परिणाम आउन बाँकी छ । ती वडाहरुको गणना भइरहेको छ ।

Back to top button