मतगणना नसकिँदै हेटौंडा उपमहानगरको उपमेयरमा गठबन्धनबाट बानियाँ विजयी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका राजेश बानियाँ विजयी हुनुभएको छ ।

उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेकोमा ६७ हजार ४ सय ३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित हुनुभएको हो । पाँच हजार ९ सय ७९ मत गणना बाँकी हुँदा बानियाँले आठ हजार ६ सय ५ मतान्तरले अग्रता बनाउनुभएको छ ।

उहाँले ३० हजार ३ सय २ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गर्नुभएको छ ।

उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिनुभएकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता बनाइरहनुभएको छ । लामाले २१ हजार २ सय ३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा एमालेका उम्मेदवार अनन्त पौडेल १९ हजार ३ सय २५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १८ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

यस्तै, हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने गरी काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

Back to top button