डोटी बस दुर्घटना, १२ जना घाइते, ५ को अवस्था गम्भीर

काठमाडौं । डोटीमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी एक बालक बेपत्ता भएका छन्। अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको हो।

अन्य घाइतेको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

यस्तै, बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ। बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Back to top button