काठमाडौं महानगर–७ मा कांग्रेसबाट होडा विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित हुनुभएको छ । होडाले नेकपा एमालेका उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय हुनुभएको हो ।

होडाले दुई हजार ८ सय ६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८ सय १६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ कांगे्रसका रुपा थापाले जित हासिल गर्नुभएको छ भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय हुनुभएको छ ।

हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ । कामपाको कूल एक लाख ९१ हजार १ सय ८६ मतमध्ये एक लाख ६ हजार ५ सय १६ मत गनिसक्दा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३८ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २० हजार ९ सय ६५ र नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार ५ सय ३८ मत प्राप्त गर्नुभएको काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

यस्तै, एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले पनि आफ्नो अग्रता कायमै राख्नुभएको छ । उहाँले ३८ हजार ३ सय ५१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १३ हजार ४ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

Back to top button