नीति तथा कार्यक्रमले नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिन्छ : थापा

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्धनमा ध्यान दिने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्व–उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक अतृप्त अवसर लोकार्पण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्धनमा ध्यान दिइने बताउनुभएको हो ।

उहाँले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझावअनुसार उद्योग मन्त्रालयअन्तर्गत प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्धन कार्यक्रमको नाममा छुट्टै परियोजना आउने बताउनुभयो । यसअन्तर्गत कृषि, खाद्यान्न, वनपैदावार, जडीबुटी, औषधि, निर्माण तथा हस्तकला लगायतका क्षेत्रमा काम हुने उल्लेख गर्नुभयो।

‘हिजो मात्रै प्रधानमन्त्रीलाई भेटेर यो वर्षको नीति, कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्धन कार्यक्रम भनेर एउटा छुट्टै परियोजना उद्योग मन्त्रालयले लिड गर्ने यसमा एउटा सानो स्टडी गरेर नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई गएर बुझाएको, उहाँले हाम्रो कुरा राखिदिनुभएको छ’ उहाँले भन्नुभयो, ‘यसमा ६ वटा सेक्टर छ, एउटा टेक्सटायल, एउटा फुटवेयर, कृषि र खाद्यान्न, वन, पैदावार, जडीबुटी र औषधी र कन्स्ट्रक्सन, हस्तकला सातवटा एरिया गरेर के गर्नुपर्छ भनेर सबै डिटेलसहित बुझाएर यसपालिको नीति कार्यक्रम र वार्षिक कार्यक्रममा छुट्टै कार्यक्रम उद्योग मन्त्रालयले लिड गर्ने गरी लिएर आएको छ।’

Back to top button