सिराहामा दुई बाबु–छोराको हत्या

जनकपुर । सिरहाको अर्नमा गाउँपालिका–१ महनौरस्थित घरमै दुई बाबु–छोराको हत्या गरिएको छ । अज्ञात समूहले धारिलो हतियारले चुलाही भन्ने ६० वर्षीय चन्देश्वर पाल र उहाँका २० वर्षीय छोरा सन्तकुमारको हत्या गरेको हो ।

स्थानीयका अनुसार जेठ ११ गतेका लागि छोरा सन्तको बिहे छिनोफानो भएको थियो । विवाहको खुसियालीमा मिथिलाको परम्परा घरमा महिलाहरूले गीत गाउँने गरेका थिए । सन्तकुमारको घरमै टोलकी महिलाहरु भेला भइ विवाहको गीत राति १२ बजेसम्म गाएका थिए । गीत गाएर सबै घर फर्किएको केही घण्टामै उनीहरूको हत्या भएको गाउँभर खबर फैलियो ।

सन्त कुमारसँग ११–१२ वर्षका एक बालक समेत सुतेका थिए । उनी सुतेकै घरमा टाँसिएको अर्को कोठामा बुबा सुतेका थिए । घटना पश्चात बालक चिच्याएपछि गाउँलेले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

हत्या भएका सन्तकुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आउनुभएको थियो। बाबु–छोराको हत्यापछि महनौर टोल त्राससँगै शोकमा डुबेको छ ।

रातिदेखि नै प्रहरी अनुसन्धानमा लागेका छन् । तर, अहिलेसम्म हत्या कसले र किन गरेको कुरा खुलेको छैन । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास ढकालले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं । तत्काल केही बताउँन सकिन्न ।’ अहिले महनौरमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

Back to top button