हतुवागढी गाउँपालिकाले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले पालिका भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ।

 वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको सपथ ग्रहणसंगै गाउँपालिकाले यस्तो निर्णय गरेको हो। गाउँपालिकाका शारिरीक रुपमा अशक्त ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउन गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो।

भौगोलिकरुपले विकट गाउँपालिकाका दुर्गम क्षेत्रका ६५ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

यस्तै गाउँपालिकाले रेफर गर्नुपर्ने किसिमका विरामीलाई हतुवागढी गाउँपालिका ९, हसनपुरको मचुवा, कोप्चे, चुहारसम्म नियमित एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका क्षेत्रका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउने र नियमित स्वास्थ्य परिक्षणपश्चात प्रसुति गराउने गर्भवती महिलालाई जनही ५ हजार रुपैँया पोषण सुधारस्वरुप नगद प्रदान गर्ने समेत निर्णय गरेको छ।

दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्यले बताउनुभएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ९ वडा रहेको हतुवागढीको अध्यक्षमा नेकपा एमालेको तर्फबाट प्रेमकुमार राई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र (गठबन्धन) की सुनिता राई निर्वाचित हुनुभएको हो ।

Back to top button