इन्धनको मूल्यमा पुन: भारी वृद्धि, एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्याँसको मूल्री  १८०० रुपैयाँ पर्नेछ ।

हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठन
एक साता भित्र नै दोस्रो पटक पेट्रोलियम पदार्थमा भएको भारी मूल्य बृद्धिप्रति प्रमुख विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट बिद्यार्थी संगठनले एक सातामा दुई पटक भएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग गरेका छन् । मूल्य वृद्धि फिर्ता नभए निर्णायक र शसक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सरकारले निर्वाचन लगत्तै जनतालाई झुक्याएर भारी मात्रामा गरिएको मूल्यबृद्धि स्वीकार गर्न नसकिने बताउनुभयो ।  जनताको जीवनयापनमा नै गम्भीर असर गर्ने गरी मूल्य बढाइएको छ भन्दै उहाँले मूल्य वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रने बताउनुभयो ।

समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले गठबन्धनका नाममा जनतामाथि निर्मम ढंगबाट मूल्यवृद्धि थोपरिएको बताउनुभएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध जनाएको छ ।

Back to top button