बहुप्रतीक्षित ‘प्रेम गीत ३’ असोज ७ देखि हलमा प्रदर्शन हुने

काठमाडौं । बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तोकिएको छ। छेतन गुरुङ र सन्तोष सेनले संयुक्तरूपमा निर्देशन गरेको फिल्म दशैँको अवसर पारेर असोज ७ गते प्रदर्शनमा आउने भएको हो।

हिजो सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता सन्तोष सेनले प्रदर्शन मितिको बारेमा जानकारी दिनुभएको हो । उहाँका अनुसार अबको केही दिनमा फिल्मको ट्रेलर पनि सार्वजनिक हुनेछ। २०७६ को चैतमै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोना संक्रमणका कारण रोकिएको थियो।

५ करोडको आसपास बजेट रहेको फिल्म प्रेमकथामा आधारित रहेको छ। ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएको फिल्म हिन्दी भाषामा पनि प्रदर्शन हुनेछ। सफल लभ स्टोरी फिल्म प्रेम गीतको तेस्रो फिल्म भएकाले पनि ‘प्रेम गीत ३’ को प्रतीक्षामा धेरै दर्शक रहेका छन्। प्रेम गीत र प्रेम गीत २ ले व्यवसायिक रूपमा राम्रो प्रदर्शन गरेका थिए।

सो फिल्ममा प्रदीप खड्का, कृस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, माओत्से गुरुङ, पुष्कर कार्की र अनुभव रेग्मी लगायत कलाकारको मुख्य भूमिका रहेको छ। अभिनेत्री कृस्टिनाको यो पहिलो फिल्म हो।

यस्तै, कोरोनाका कारण तोकिएको समयमा प्रदर्शन हुन नसकेको फिल्मलाई कोरोनाकालमै भारत लगेर पोस्ट प्रोडक्सनको काम दोहोर्याएर गरिएको थियो। फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।

यसअघि सार्वजनिक भएका फिल्मका गीत तथा टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्।

Back to top button