मोरङका १७ वटै पालिकाका निर्वाचित प्रमुखहरुको सपथग्रहण सम्पन्न

विराटनगर । स्थानीय तह निर्वाचन– २०७९ को मत परिणाम सार्वजनिक भइसकेपछि आज मोरङका १७ वटै पालिकाका प्रमुखहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको भवनमा मोरङका सबै पालिकाका निर्वाचित प्रमुख तथा अध्यक्षहरुले सपथ ग्रहण गर्नु भएको हो ।

सपथग्रहण कार्यक्रममा मोरङका ८ नगरपालिकाका मेयर, ८ गाउँपालिकाका अध्यक्ष र १ महानगरपालिकाका मेयरलाई मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत भरत लम्सालले सपथग्रहण गराउनुभएको छ ।

सपथग्रहण कार्यक्रममा बोल्दै लम्सालले जिल्लाभरि पूर्णरुपमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको भन्दै जिल्लावासी, मतदाता, नागरिक समाज र सञ्चारकर्मीहरुलाई धन्यवाद दिनुभयो ।

उहाँले मोरङमा बदर मतको संख्या बढी देखिएको भन्दै आगामी निर्वाचनमा त्यो कम गराउन मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव दिने समेत बताउनु भयो ।

सपथग्रहण कार्यक्रममा १७ ओटै पालिका प्रमुखहरुले निर्वाचनको समिक्षा गर्दै संक्षिप्त धारणा राख्नुभएको थियो ।

Back to top button