विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण सम्पन्न

विराटनगर । स्थानीय तह निर्वाचन– २०७९ मा निर्वाचित भएका विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।

आज महानगरपालिकाको भवनमा आयोजित कार्यक्रममा महानगरपालिकाका निर्वाचित उप–मेयर शिल्पा निराला कार्की, १९ वटै वडाका अध्यक्ष तथा सदस्यहरुले नवनिर्वाचित मेयर नागेश कोइरालाबाट पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको थियो ।

तीन चरणमा विभाजित कार्यक्रममा पहिलो चरणमा विराटनगर महानगरपालिकाको उपमेयर शिल्पा निराला कार्कीले देश र जनताको नाममा मेयर कोइरालाबाट सपथ ग्रहण गर्नु भएको थियो भने दोस्रो चरणमा १९ वटा वडाको अध्यक्षहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको थियो ।

सपथग्रहणको अन्तिम तथा तेस्रो चरणमा विराटनगर महानगरपालिकाका १९ वटा वडाका वडा सदस्यहरुले मेयर कोइरालाबाट सपथग्रहण गर्नु भएको थियो ।

महानगरपालिकाका मेयर कोइरालाले भने यसअघि नै मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्साल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको थियो ।

सपथग्रहण गरेपछि बोल्दै महानगरपालिकाका उपमेयर कार्कीले जनप्रतिनिधिहरु विभिन्न दल र चिन्ह बाट निर्वाचित भएर आएपनि अब दल र चिन्ह भन्दा माथि उठेर विराटनगरलाई सुन्दर तथा सबल बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले निर्वाचित जनप्रतिनिधिहरुलाई माला तथा खादा ओडाएर स्वागत गर्नु भएको थियो ।

Back to top button