नव निर्वाचित मेयर कोइरालाद्धारा पदभार ग्रहण : करको दर घटाउने पहिलो निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले आज पदभार ग्रहण गर्नुभएको छ ।

मोरङको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालबाट पद तथा गोपनियताको सपथ लिनु भएका कोइरालाले आजै पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गरेसँगै उहाँले महानगरपालिकामा करको दायरा फराकिलो बनाउने तथा करको दर घटाउन राजस्व परामर्श समितिलाई निर्देशन दिनुभएको छ।

स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपप्रमुखको संयोजकत्वमा सात सदस्यीय हुनेछ । समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य निजी क्षेत्रका दुई जना प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

नगरसभाले मात्रै करको दायरा बढाउने र कर घटाउने निर्णय गर्ने भएकाले अहिले परामर्श समितिले थप गृहकार्य गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताउनुभयो ।

सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन कर, सवारी साधन कर, भूमी कर (मालपोत), मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर र होडिङ बोर्ड कर उठाउने अधिकार स्थानीयतहलाई दिएको छ । कोइरालाले सबैलाई एकै साथ समेटेर अगाडि बढ्ने बताउनुभएको छ ।

Back to top button